बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको सदरमुकाम पाटनदेखि करिब ३३ कि.मी. दक्षिणमा कोन्ज्योसोम गाउँपालिका वडा नम्बर-२ शंड्खु, मानेचौरमा अवस्थित यस श्री मगर गाउँ माध्यमिक विद्यालय समुन्द्री सतहबाट ५८०० फिटको उचाईमा रहेको छ।
राष्ट्रिय शिक्षा पद्दति वि.सं. २०२८-२०३२ अन्तर्गत नयाँ शिक्षा योजना लागु गर्ने शिलसिलामा यस विद्यालयको स्थापना भएको हो । स्वर्गीय लापन दोर्जे लामा, थलराज घिमिरे, मानबहादुर स्याङ्बो, लालबहादुर लामा लगायतका शिक्षाप्रेमीहरूको निरन्तर प्रयास र विभिन्न व्यक्तित्वहरूको पहलबाट वि. सं. २०२८ सालमा उज्ज्वल प्राथमिक विद्यालयको नामबाट प्रस्तावित यस विद्यालय, तत्कालिन अवस्थामा विभिन्न प्राविधिक कारणले उक्त नाम परिवर्तन भई वि. सं. २०३० पौष २२ गते मगर गाउँ प्राथमिक विद्यालयको रूपमा कक्षा (१-३) को स्वीकृत भइ क्रमश: वि. सं. २०३६ पौष १४ गते कक्षा-४, वि. सं. २०३६ माघ २१ गते कक्षा-५, वि. सं. २०३७ फाल्गुन २७ कक्षा-६, वि. सं. २०३८ फाल्गुन १८ कक्षा-७ स्वीकृत भएको थियो भने वि.सं. २०४७ आश्विन २ कक्षा-८२ वि. सं. २०४९ आश्विन १२ मा कक्षा ९ र १० को अनुमति प्राप्त भइ वि.सं. २०५२ पौष १३ मा माध्यमिक तहको स्वीकृत भएको थियो। यसै गरी वि. सं. २०६५ श्रवन ३ मा साविक उच्च मावि (१०+२) को सम्बन्धन प्राप्त गरेको र वि. सं. २०७४ जेष्ठ १७ गते बाट प्राविधिक तथा व्यावसायिक शिक्षा कृषि विषय अन्तर्गत बाली विज्ञान कक्षा-९ र १० संचालन गर्ने अनुमति प्राप्त, त्यसैगरी वि.सं. २०७६ जेष्ठ ६ देखि बाली विज्ञान कक्षा (११ र १२) संचालन गर्ने अनुमति पाएको ऐतिहासिक पृष्ठभूमि रहेकोछ ।
हाल यस विद्यालयमा शिशु कक्षा देखि १२ कक्षासम्म पठन पाठन हुँदै आईरहेको छ । जसमा साधारण धारतर्फ ११-१२ शिक्षा र व्यवस्थापन तर्फका विषयहरु अध्यापन हुन्छन् भने प्राविधिक धार अन्तर्गत कृषि बालीविज्ञान (९-१२) का विषयहरू अध्यापन हुन्छन् । वर्तमान अवस्थामा यस विद्यालयमा कक्षा ११-१२ अनुदान कोटा २, वाली विज्ञान प्रशिक्षक-८, माध्यमिक तह-५, निमावि-५, प्रा.वि.-५, बालविकास सहयोगी-२, विद्यालय कर्मचारी-२, विद्यालय नर्स-१, फिल्ड सहायक-१, आया-१ गरी कुल ३२ जना शिक्षक, प्रशिक्षक र कर्मचारी कार्यरत रहेका छन् भने विद्यालय भवन ४ वटा, कक्षाकोठा ३५ ओटा, पर्याप्त फर्निचर,खेलमैदान, शौचालाय, खानेपानी, विभिन्न विषयगत प्रयोगशाला, पुस्तकालय, विषयगत शिक्षक तथा प्रशिक्षकहरू, विद्यालय नर्स आदिको राम्रो व्यवस्था एवम् छात्रावासको लागि नयाँ भवन निर्माणको क्रममा रहेको हुँदा निकट भविष्यमा स्नातक तहसम्म कक्षा संचालन गर्ने विद्यालयले लक्ष्य राखेको छ

यस विद्यालयलाई विभिन्न काल खण्डहरूमा विभिन्नखाले उताव चढावहरू झेल्दै र त्यसलाई पार गर्दै ५० वर्षको इतिहास निर्माण गर्न योगदान गर्नुहुने संस्थापकहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी, विद्यार्थीहरू, एवम् विद्यालय व्यवस्थापन समिति, हाल कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकज्यूहरूमा हार्दिक नमन गर्दै यहि २०८० फागुन १८, १९, र २० गते मनाउन लागिरहेको विद्यालयको स्वर्णमहोत्सवलाई भव्य र सभ्य बनाई सफल बनाउन सबैको योगदान उच्च रहोस् भनि सबैमा स्वर्णमहोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
१. शिक्षा र व्यवस्थापन तर्फका स्नातक तहका कक्षाहरू संचालन गर्ने,
२. अक्षयकोषको स्थापना गरी गरीब, जेहेन्दार, पिछडावर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने,
३. विषयगत कक्षाकोठाको निर्माण गर्ने,
४. कक्षाकोठालाई प्रविधिमैत्री बनाउने,
५. विद्यालयको हालसम्मको गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने,
६. विद्यार्थीहरूमा खेलकुद तथा सांस्कृतिक कृयाकलापहरूमा उत्प्रेरीत गर्ने ।
१. विद्यालयको सेवाक्षेत्र विस्तार गर्दै औसत सिकाइ उपलब्धि स्तर वृद्धि गर्ने।
२. विद्यालय वातावरणलाई सुरक्षित, बालमैत्री र प्रविधिमैत्री बनाउने ।
३. कृषि प्राविधिक धारलाई दिगोपन गराउने ।
४. विद्यालयमा सु-शासन उन्मुख क्रियाकलापहरूमा जोडदिंदै समुदायको सहभागिता सुनिश्चित गर्ने।
५. विद्यालयको दिगो विकासका लागि आर्थिक रूपमा मजबुत बनाउने ।
६. भौतिक सुविधा सम्पन्न बनाउने ।













